उदयपुर, २२ चैत । उदयपुरमा १५ वर्षीया एक छात्राको हत्या गरेको आरोपमा उनकै दुई जना साथी पक्राउ परेका छन् ।

बेलका नगरपालिका–३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले हत्याको अभियोगमा उनका दुई जना साथीलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा नियन्त्रण लिइएका दुवैजना दाजुबहिनी नाता पर्ने र कक्षा १० मा नै अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक सुभाष बोहोराका अनुसार योजनावद्ध रूपमा कविताको हत्या भएको देखिएको छ । सँगै पढ्न जाने आउने गरेका उनीहरूबीच बाटोमा विवाद भएपछि कविताको हत्या भएको खुलेको छ । बियरको बोतलले उनको टाउकामा प्रहार गरेको देखिएको एसपी बोहोराले बताए ।

बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविताको शव आज बिहान घरबाट विद्यालय आउने क्रममा यशोदा खोला नजिकै बरामद भएको थियो । उनी साढे ४ बजेतिर ट्युसन पढ्न निस्किएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा करिब साढे ५ बजेतिर किशोरीको हत्या भएको देखिएको छ ।