तत्काल उम्मेदवारको टुंगो नलगाउन कांग्रेसको मौखिक सर्कुलर

काठमाडौं, २२ चैत । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन मातहतका कार्य समितिहरुलाई सर्कुलर गरेको छ ।
उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाइरहेको समयमा कांग्रेसले मौखिक रुपमा सर्कुलर गरेको हो ।
कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले केन्द्रीय कार्यालयले उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिइएको बताए ।
उनले अहिलेसम्म जे जति काम भएको छ त्यसलाई होल्ड राख्न केन्द्रीय कार्यालयबाट भनिएको बताए ।
यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकेको थियो ।
केन्द्रीय परिचालन समितिले वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिइएको थियो ।
प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो । तर अहिले आएर टुंगो नलगाउन सर्कुलर गरिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


