तनहुँ, २१ चैत । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा हुन लागेको गठबन्धन वर्तमान सरकार बचाउनका लागि पनि भएको स्वीकार गरेका छन् ।

आठौं तनहुँ महोत्सवको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै मन्त्री खाँणले भने, ‘धेरैले गृहमन्त्री बढ्ता गठबन्धनमुखी भयो भन्ने आरोप छ । र, सायद सरकार बचाउन हो कि भन्ने पनि होला । वास्तवमा सरकार बचाउने पनि हाम्रो चाहना छ, नढाँटिकन भन्दा ।’

पाँच दलीय गठबन्धन ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्न भएको सहमतिलाई गृहमन्त्री खाँणले सरकार बचाउनका लागि भएको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारको प्रतिरक्षा गर्ने सबैको दायित्व भएको उनको प्रस्टोक्ति छ ।

गठबन्धन पञ्चायतकालमा पनि भएको उनले बताए । उनले उद्योगी व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए ।