काठमाडौं, २१ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् ।

प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि, यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो ।

टालाटुली बाटुली कति राम्रा पुतली भनेजस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन् ।’

पाँच दलीय गठबन्धन भ्रमको खेती भएको उनको आरोप छ ।

स्थायी कुरा सत्य हुने भन्दै ओलीले भने, ‘स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।’