जनकपुरधाम, २१ चैत । सत्तारुढ गठबन्धनबीच स्थानीय निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल गर्न मधेस प्रदेशमा बसेको बैठक सकिएको छ ।

बैठकले भोली मंगलबारसम्म मधेस प्रदेशको १३६ वटै स्थानीय तहको वडासम्म गठबन्धन चुस्त दुरुस्त बनाउने विषयमा निर्णय भएको हो ।

नेकपा माओवादी केन्द्रका नेता योगकुमार बरबरियाले भने,‘गठबन्धनभित्रका पार्टीहरुको वर्तमान अवस्था के छ भन्ने तथ्यांक संलकन गर्ने र गठबन्धनलाई चुस्त दुरुस्त बनाउने विषयमा निर्णय भएको छ ।’

तथ्यांक संकलन भएपश्चात केन्द्रमा पठाउने र केन्द्रबाटै तालमेलको विषयमा निर्णय हुने उनले बताए ।

बैठकमा सबै दलका प्रतिनिधिले गठबन्धन र चुनावी तालमेलको विषयमा धारणा राखेका थिए । सबै सकरात्मक देखिएकाले तालमेलको सम्भावना प्रवल रहेको उनले बताए ।

जनकपुरधामस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको बैठकमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका प्रदेश कमिटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।