ओलीले दायर गरेको निवेदनमा चैत २७ गतेका लागि पेसी

काठमाडौं, २० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको निवेदनमा सर्वोच्चले चैत २७ गतेका लागि पेसी तोकेको छ । ओलीले माधवकुमार नेपालसहित १४ जना सांसदको पद खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए ।
न्यायाधीश अनिल सिन्हा र सुवेदीको इजलासमा पेसी रहेको थियो । न्यायाधीश नहकुल सुवेदीले उक्त मुद्दामा हेर्न नमिल्ने भएपछि आइतबार मुद्दाको सुनुवाइ सारिएको हो ।
यसअघि इजलासले आजदेखि अन्तिम सुनुवाइ सुरु गर्ने भनी पेसी तोकेको थियो । इजलासमा पक्ष र विपक्ष दुवैका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले आफूले मुद्दा हेर्न नमिल्ने जानकारी गराएका हुन् ।
यसअघि न्यायाधीश सुवेदीले सांसद सोमप्रसाद पाण्डेको मुद्दामा अन्तरिम आदेश जारी गरेका थिए । सोबेला एकीकृत समाजवादी पार्टीबारे धारणा दिएकाले अफू थप सुनुवाइमा नबस्ने निर्णय सुवेदीले गरेका हुन् ।
निवेदकका कानुन व्यवसायीहरुले इजलासबाट सुनुवाइको मिति तोकिनुपर्ने माग गरेका थिए । सोही मागअनुसार अदालतले चैत २७ गतेका लागि पेसी तोकेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


