सर्लाही, २० चैत । सर्लाहीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

आइतबार बिहान महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको कालिञ्जोर पुल छेउमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार लालबन्दी नगरपालिका–२ बस्ने २५ वर्षीय चन्दु पासवानको मृत्यु भएको हो ।

ना २९ प २४३७ नम्बरको मोटरसाइकललाई लालबन्दी–१७ स्थित कालिञ्जोर पुलको पूर्वी मुखमै विपरीत दिशाबाट आएको ना ५ ख ८४८५ नम्बरको ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।

लालबन्दीमा तेल नपाएपछि रानीगंजस्थित पम्पबाट मोटरसाईकलमा पेट्रोल हालेर फर्कदै गर्दा पासवान दुर्घटनामा परेका थिए । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।