विराटनगर, १९ चैत । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सक मृत अवस्थामा भेटिएका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई विराटनगर बस्दै आएका २७ वर्षीय विजय यादव मृत भेटिएका हुन् ।

उनी नोबेल अस्पतालको हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए । चिकित्सक यादव विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा डेरामा बस्दै आएका थिए ।

डेरा बसेको घरको कम्पाउण्डभित्र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।

नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यादवको शव देखेपछि स्थानीयले शनिबार बिहान प्रहरी र अस्पताललाई घटनाको जानकारी गराएका थिए ।

मृतकका आफन्तले हत्या भएको आशंका गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको बताए ।