प्रधानमन्त्री देउवालाई भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्रीले गरे स्वागत

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी नयाँदिल्ली पुगेका हुन् ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवासँग स्थानीय समय अनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटिसीमा शिष्टाचार भेट गरेका छन् ।
त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम रहेको छ ।
शनिबार स्थानीय समय अनुसार बिहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
मोदीसँगको भेटवार्तापछि हैदरावाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ ।
बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ ।
शनिबार नै दिउँसो ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणसी पुग्ने कार्यक्रम रहेको छ । वाराणसीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४ः१५ बजे स्वदेश फर्कनेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


