जनकपुरधाम, १८ चैत । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व अभैm हुन नसकेको बताएका छन् ।

साथसाथै संस्थाले शुक्रबार जनकपुरधाममा आयोजना गरेको जलवायु परिवर्तनको असर र महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले शिक्षा, आर्थिक र राजनीतिमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या ज्यूँका त्यूँ रहने तर्क गरे । नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा उनले जोड दिए ।

पितृसत्तात्मक समाजले गर्दा महिला विभेदमा परेको स्वीकार गर्दै उनले भने,‘छोरालाई घुम्ने, खेल्ने छुट दिइएको छ । तर, छोरीलाई दायरामा राखिएको छ । यसले समाजमा अभैm महिला उपर विभेद कायमै रहेको प्रष्टयाउँछ ।’

पुरुषप्रधान चश्माबाट हेर्दा समाजमा समस्या निम्तिएको उनले बताए । जलवायु परिवर्तनले सबै क्षेत्र प्रभावित भइरहँदा यसबाट महिला अक्षुण्ण नरहेको उनले जिकिर गरे ।

बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै उनले यसको निकासी तत्काल रोक्नुपर्ने बताए । बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाएपनि मधेस प्रदेशमा बेरोकटोक निकासी भएको उनले बताए ।

‘सरकारले नीति नियम बनाउने हो, उनले भने,‘कार्यान्वयन गर्ने निकाय नै इमान्दार भएन् । कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै दैनिक चुरे दोहन भइरहेको छ । चुरे दोहनमा प्रयोग गरिएको स्काभेटर, टिपर नियन्त्रणमा लिइएको छैन् ।’

यस्तो अवस्थामा जलवायु परिवर्तनको प्रभाव देखिनु स्वभाविक रहेको उनको तर्क थियो । चुरे दोहन, वन फडानी, बालुवा गिट्टी उत्खनन् कार्य तत्काल रोक्नुपर्नेमा उनले जोड दिए ।

प्रदेशसभा सदस्य मञ्जु यादवले वैदेशिक रोजगारीले समाजमा महिला हिंसा बढेको जिकिर गरिन् । उनले महिलाबाटै महिला पीडित रहेको दावीसमेत गरिन् । यादवले घरबाटै लैंगिक हिंसाको अन्त्य गर्नुपर्ने धारणा राखिन् ।

साथसाथैकी अध्यक्ष प्रनिता कार्कीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले चुनौतीपूर्ण भूमिकामा महिलालाई अगाडि ल्याउनुपर्नेमा जोड दिइन् ।

महिलालाई सशक्त र बलियो बनाउनका लागि चुनौतीपूर्ण भूमिकामा ल्याउनुपर्ने उनको तर्क थियो । महिला पनि सक्षम रहेको भन्ने संदेश दिन आफूहरु ५५४० मीटर अग्लो कालापत्थरसम्म पुगेको उनले बताइन् ।

कार्यक्रममा मुख्यन्यायाधीवक्ता दिपेन्द्र झा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

साभार : मुख्यमन्त्री सञ्चार सचिवालय, मधेस प्रदेश