सिरहामा तीनवटा पसलमा आगलागी हुँदा एक करोड बराबरको धनमाल जलेर नष्ट

सिरहा, १८ चैत । सिरहामा तीनवटा पसलमा आगलागी हुँदा एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।
जिल्लाको धनगढीमाई नगरपालिका–१० धनगढीबजारमा रहेको गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जनरल स्टोर र अशेश्वर साहको आइरण स्टोरमा आगलागी भएको हो ।
बिहीबार राति उनीहरुको पसलमा आगलागी हुँदा करिब १ करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाइएको छ ।
त्यस्तै, विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्ट भएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिए ।
आगो स्थानीय, प्रहरी र गोलबजार, लहान र मिर्चैया नगरपालिकाबाट आएको दमकलले नियन्त्रण लिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


