प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारतको दिल्ली प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई नेपाली सेनाको टोलीले बिदाइ गरेको थियो । उनलाई सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँणलगायतले बिदाइ गरेका हुन् ।

प्रधानमन्त्री देउवा भारतीय समयअनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन् । त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्नेछन् ।
प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेटघाट गर्ने कार्यक्रम छ ।
त्यसपछि उनी साँझ ५ बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री देउवाले भोलि समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका छ । उनी आइतबार बनारसको भ्रमण गरेर त्यही दिन स्वदेश फर्कने छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


