सप्तरी, १८ चैत । सप्तरीमा जनता समाजवादी पार्टी नेपाल परित्याग गरि १२५ जना बढी नेता कार्यकर्ताहरू तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।

स्थानिय जिवछ यादवको नेतृत्वमा उनीहरू तमलोपामा प्रवेश गरेका हुन् ।

तमलोपा सप्तरीका अध्यक्ष प्रमोद यादवको सभापतित्वमा राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तमलोपाका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा. विजय कुमार सिंहले उनीहरूलाई पार्टीको सदस्यता प्रदान गरेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू रामप्रीत यादव, ब्रजकिशोर सिंह, असगर अली, हेमनाथ साह, मदन सिंह समेतको उपस्थिती रहेको थियो ।

कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष लालले तमलोपा मधेसका आन्दोलनकारीहरूकै नेतृत्वको संस्थागत लोकतान्त्रिक पार्टी निर्माणको अभियान रहेको बताउँदै आफूहरूको अभियान निश्चय नै सफल हुने दावी गरे ।

लालले मन्त्री र उपप्रधानमन्त्री पदका लागि अहिलेसम्म मधेश विद्रोहको सम्पूर्ण ताकत र मत बिक्री गरिंदै आएको बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंहले तमलोपा मधेशीहरूको प्रतिनिधि पार्टी बन्ने दावी गरे ।

उनले आफूहरू कुनै पद वा तत्कालको लाभको निमित्त यस चुनौतीलाई स्वीकारे नगरेको बताउँदै तमलोपाको लक्ष्य मधेसको सशक्त पार्टी निर्माण गर्नु रहेको धारणा राखे ।

क्षेत्रीय राजनीतिक शक्तिको विकास नभए संघीयतामा स्वशासन अर्थपूर्ण हुन सक्दैन भन्दै उनले मधेसको नाममा राजनीति गर्ने दलहरू मधेस शब्दबाटै डराएकोले त्यो दुर्भाग्यपूर्ण रहेको बताए ।

नवप्रवेशी जिवछ यादवले तमलोपा आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा असगर अली तथा हेमनाथ साहले नवप्रवेशी सदस्यहरूलाई स्वागत गरेका थिए ।