स्थानीय निर्वाचनमा गठबन्धन एक ठाउँमा खडा रहन्छ : मन्त्री कार्की

काठमाडौं, १७ चैत । सत्तारूढ ५ दलीय गठबन्धनले ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा ५ दलहरू मिलेर निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन एक ठाउँमा खडा रहने बताए ।
उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्नका निमित्त अब गठबन्धनमा सहभागी दलहरुका प्रदेश स्तरीय प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरुको एउटा संयन्त्र बनाउने र उक्त संयन्त्रले आफ्नो पार्टीको विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको तालमेलमा सहभागी बन्ने बताए ।
मन्त्री कार्कीले बैठकमा सहभागी गठबन्धनका नेताहरुले शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमण सफलताको शुभकामना दिएको पनि बताए ।
भ्रमणमा प्रधानमन्त्री देउवाले नेपाल र भारतको बीचमा सरकार–सरकारको मात्रै नभइ जनता– जनताको स्तरमा पनि सम्बन्ध भएकोले यी सम्बन्धलाई प्रगाढ बनाउने, विकसित गर्ने र दुई देश बीचमा देखिएका समस्याहरुको हल गर्न उच्चस्तरको राजनीतिक र कूटनीतिक पहल गर्ने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


