जनकपुरधाम, १६ चैत । नेपाल पत्रकार महासंघ धनुषा शाखाले पत्रकार महासंघको ६७ औं स्थापना दिवस मनाएको छ ।

दिवसको अवसरमा महासंघ धनुषाले ‘निर्वाचनमा सञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले निर्वाचनमा मिडियाको भूमिकाको मात्रात्मक बढोत्तरीसँगै मिडियाको भूमिकाबारे सघन सोधखोज, पर्यवेक्षण, अनुसन्धान गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले मिडियाले व्यवसायिक नैतिकतालाई पालना गर्दै निर्वाचनमा बहुलता, विविधता र नयाँ विकल्पलाई पनि यथेष्ट कभरेज दिन सकेमा लोकतन्त्रलाई समावेशी र सहभागितामूलक बनाउन सकारात्मक योगदान पुग्ने कुरामाथि जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रादेशिक कार्यसमिति मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्णले सर्वसाधारण जनताले पनि मिडियाका अन्तर्वस्तुलाई पर्यवेक्षण तथा निगरानीमा राख्ने र आवश्यकताअनुसार मुखर सार्वजनिक टिप्पणी गरिदिए मिडिया क्षेत्रमा निर्वाचनमा पत्रकारिताको पेसागत मर्यादा एवं व्यावसायिक धर्मअनुसारका कार्य गर्न सजगता बढ्ने धारणा राखेका थिए ।

पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले निर्वाचन प्रक्रियामा उपयोगी बन्ने तर कुनै राजनीतिक पार्टी, गुट वा उम्मेदवारले आफूलाई दुरुपयोग गर्न नसक्ने अवस्था सुनिश्चित गर्नु मिडिया क्षेत्रको कर्तव्य रहेको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, वरिष्ठ पत्रकार बिएम खनाल, श्यामसुन्दर शशी, हिमांशु चौधरी, सुजित झालगायतका वक्ताहरुलेसमेत आ–आफ्नो धारणा राखेका थिए ।