स्थानीय चुनावबाट विकास विरोधी शक्ति पराजित हुन्छ : ओली

काठमाडौं, १६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी परिचालित हुन निर्देशन दिएका छन् ।
प्रतिवद्धतापत्र तयारीबारे छलफल गर्न आयोजित भर्चुअल अन्तरक्रियामा अध्यक्ष ओलीले स्थानीय चुनावबाट विकास विरोधी शक्ति पराजित हुने बताए ।
‘स्थानीय चुनाव भनेको माटोसँग जोडिने कुरा हो । एमाले देशको माटोसँग जोडिएको छ’, ओलीले भने । आउने चुनावले विगतका सरकारले गरेको कामलाई मूल्याङ्कन गर्ने ओलीले बताए ।
‘हाम्रो नेतृत्व भएको स्थानीय सरकारले गरेको कामहरु प्रचार गर्नुहोला । संघ र प्रदेश सरकारले गरेको कामको प्रचार गर्नुपर्छ’, ओलीले भनेका थिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्न एमाले नेतृत्व सरकारले असाधारण काम गरेको ओलीले बताएका थिए ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा बनेको प्रतिवद्धतापत्र संयोजन समितिका सदस्यहरु, जिल्ला इन्चार्ज, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय तहमा निर्वाचित पदाधिकारी सहितको भर्चुअल कार्यक्रम बुधबार भएको थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिबद्धतापत्रको सैद्धान्तिक विषय राखेपछि अध्यक्ष ओलीले निर्देशनात्मक सुझाव दिए ।
पार्टीको लोकप्रियता देखेर एमालेविरुद्ध गठबन्धन बनेकाले नआत्तिन अध्यक्ष ओलीले निर्देशन दिएका थिए । ‘पार्टी प्रवेशको लहर चलेको छ । एमाले एक्लैले जित्ने आधार बनेको छ’, ओलीले विश्वास दिलाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


