काठमाडौं, १६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् ।

बुधबार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताएका हुन् । उनले बैंककमा हप्तामा दुईवटा र साउदी अरेबियाको रियादमा हप्तामा तीनवटा उडान भर्ने गरी अगाडि बढेको जानकारी दिए । मन्त्री आलेले २१ मार्चदेखि मुम्बईमा हप्ताको तीनवटा र २५ मार्चदेखि बैङ्लोरमा पनि हप्तामा तीनवटा उडान भरिएको बताए ।

उनले भने, ‘हामीले २१ मार्चदेखि मुम्बईमा ३ वटा उडान हप्तामा हामी गर्दैछौँ नेपाल एयरलाइन्सको जहाजले । त्यस्तै २५ मार्चदेखि हामी बैङ्लोरमा हप्तामा ३ वटा फ्लाइट हामी गर्दैछौँ । १ अप्रिलबाट जापानको नारितामा दुईवटा उडान भर्दैछौँ । दिल्लीमा हरेक दिन दुईवटा फ्लाइट हुनेगरी हामी हप्तामा १४ वटा फ्लाइट गर्दैछौँ । त्यस्तै बैंकक हप्तामा दुईवटा गर्दैछौँ । अनि दुबई, दोहा, हङकङ नियमित उडान भइरहेको छ । म यहाँहरूलाई जानकारी गराउन चाहान्छु । र यही १५ अप्रिल साउदी अरेबियाको रियादमा पनि हप्तामा तिनवटा उडान भर्नेगरी हामी अगाडि बढाउँदै छौँ ।’

मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताए । पहिले ४ देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उनले उल्लेख गरे । उनले खतरायुक्त सामग्री ल्याउने सर्टिफिकेट पनि नेपाल एयरलाइन्सले प्राप्त गरेको बताए ।

मन्त्री आलेले क्यासिनोहरूको रोयल्टी र नवीकरण तथा अन्य होटल व्यवसायमार्फत सरकारले १ अर्ब रुपैयाँ संकलन गरेको बताए । रोयल्टी रकम बुझाउन अटेर गर्ने तीनवटा क्यासिनोको लाइसेन्स रद्द गरिएको उनले बताए ।