काठमाडौं, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका दैनिक आवश्यकता प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्र संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताएकी छन् ।

उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ कानपुरका पुनःनिर्माण गरिएको प्राचीन कालिका मन्दिरको बुधबार उद्घाटन गर्दै सो कुरा बताएकी हुन् ।

नेपाली जनताको ठूलो त्याग र बलिदानको फलस्वरूप निर्माण भएको वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधामा सहज पहुँचको माध्यमबाट आर्थिक–सामाजिक रूपान्तरण हासिल गर्न स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको बताइन् । ‘संविधानको यस भावनालाई आत्मसात् गरी प्रत्येक जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्दछ,’ उनले भनिन् ।

भण्डारीले स्थानीय तहमा भौतिक निर्माण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्ने बताइन् । उनले भनिन्, ‘हरियाली प्रवद्र्धन गर्ने, पानीका मूल बचाउने एवं जैविक विविधताको रक्षा गर्ने कार्यबाट मात्र हामीले यस सुन्दर धर्तीलाई भावी पुस्ता समेतका लागि सुरक्षित बनाउन सक्छौँ ।’

उनले स्थानीय तहका प्रतिनिधिका साथै सम्बद्ध सबै पक्षमा विकाससम्बन्धी नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्पका लागि विशेष आह्वान गरिन् । भण्डारीले जनप्रतिनिधिले नागरिकलाई शिक्षा, स्वास्थ्य, शुद्ध पिउने पानी एवं सरसफाइजस्ता आधारभूत सेवा सरल र सहज रूपमा उपलब्ध गराउने विषय सबैको गम्भीर सरोकारको विषय बन्नुपर्ने बताइन् ।

भण्डारीले नगरले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयका बालबालिकाका लागि दिवा खाजा, पर्यटन तथा कृषि क्षेत्रको उन्नयनमा निरन्तर काम गरेको चर्चा गरिन् । ‘विश्व सम्पदा सूचीमा सामेल हुन आवश्यक पूर्वाधारको निर्माणमा तपाईंको प्रयास फलदायी हुने मैले अपेक्षा लिएको छु,’ उनले भनिन् । उनले मन्दिर उद्घाटनपश्चात् उक्त मन्दिरमा पूजाअर्चना गरेकी थिइन् ।