काठमाडौं, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा अपनाउने रणनीतिबारे छलफल सुरु गरेको छ ।

बुधबार पार्टी कार्यालय बबरमहलमा बसेको समितिको बैठकमा स्थानीय तहको निर्वाचन र निर्वाचन आयोगले परिमार्जन गर्न भनेको विषयमा छलफल भएको हो ।

बैठकपछि बोल्दै लोसपाका नेता लक्ष्मणलाल कर्णले समितिको बैठकमा नेताहरूले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनबारे आफ्नो मत राखेको बताए । उनले नेताहरूले बोल्ने क्रम नसकिएकोले भोलि पनि बोल्ने प्रक्रिया जारी रहने बताए ।

‘पार्टीको एक्टिभिटी त्यो सम्बन्धमा व्यापक छलफल भयो । त्यसपछि विधान हाम्रो परिमार्जन निर्वाचन आयोगमा दर्ता भएको छ । त्यसको केही परिमार्जन गर्ने हामीले एउटा पद्धति बनाएर, कमिटी बनाएर मस्यौदा तयार गरेका छौँ । भोलि त्यसलाई फाइनल गर्नेछौँ’ उनले भने ।

उनले विधानको सम्बन्धमा अध्ययन गर्न सबैलाई मौका दिएको बताउँदै उनले भोलि त्यसलाई फाइनलमा पुग्ने बताए । बैठक बिहीबार १ बजे बस्ने उनको भनाइ छ ।