सर्लाही, १६ चैत । सर्लाहीका प्रहरी प्रमुख कृष्ण प्रसाईँको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई आकस्मिक सरूवा गरेको हो ।

प्रसाईंलाई कार्यक्षेत्रमा खटाएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले काज सरूवा गरेको छ ।

उनलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालयमा सरूवा गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए ।

प्रसाईंको स्थानमा अन्वेषण योजना तथा विकास कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेललाई सर्लाही पठाइएको हो ।

यसअघि सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई आकस्मिक सरुवा गरिएको थियो । सार्वजनिक स्थानमै जुवा खेलेको भिडियो सार्वजनिक भएपछि उनको सरुवा गरेर २ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रसाईंलाई सर्लाहीको जिम्मा दिइएको थियो ।

प्रसाईँको कार्यसम्पादन सन्तोषजनक नभएपछि हटाइएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गत शनिबार मात्र जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि आक्रमण भएको थियो । साहको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।