कांग्रेसले स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूप आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
प्रवक्ता प्रकाशशरण महतले बैठकपछि यसबारेमा जानकारी दिएका हुन् ।
गत शुक्रबारदेखि जारी बैठकमा नेताहरूले राखेको धारणाको आधारमाथि मंगलबार थप छलफल गरेर निर्णय सुनाइएको छ
बैठकले चुनावी तालमेलका लागि बाटो खुलेको हो । यसअघि लामो समयदेखि कांग्रेस शीर्ष नेताहरुमा चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा व्यापक मतभेद देखिएको थियो ।
कांग्रेसमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायतले चुनावी तालमेल गरेर अगाडि बढ्नु पर्ने आवाज उठाइरहेका थिए ।
तर, कांग्रेस नेता शेखर कोइराला पक्षधरले चुनावी तालमेल गर्दा कांग्रेसलाई नै घाटा हुने भन्दै यसको विरोध गर्दै आएका थिए । यही विषयमा समेत छलफल गर्न शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकले मंगलबार चुनावी तालमेल गर्ने बाटोलाई खोलेको हो ।
बैठकमा यो प्रस्तावमाथि छलफल सुरु भए पछि केन्द्रीय कमिटी सदस्यहरुलाई सभापति देउवाले समर्थन गर्न अनुरोध गरेका थिए ।त्यहीअनुसार केन्द्रीय सदस्यहरुले यो प्रस्तावको पक्षमा मत दिएका थिए ।
तर, यसका लागि कांग्रेसले दुई सर्त राखेको छ ।
एक केन्द्रीय सदस्यले फरकधारलाई दिएको जानकारीअनुसार अब कांग्रेसले स्थानीय तहमा आवश्यकताको आधारमा चुनावी गठबन्धन गर्न सक्ने भएको छ । स्थानीय आधारमा गर्ने भनिए पनि चुनावी तालमेल अहिले सरकारमा रहेको गठबन्धनका दलहरुसँग मात्र गर्न सकिने प्रावधान बनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


