काठमाडौं, १५ चैत । सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्यूटी फ्रि÷कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित ड्यूटी फ्रि÷कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताए ।

प्रवक्ता कार्कीका अनुसार सरकारले चीन सरकारसँग भएको ‘इप्लिमेण्टेशन एग्रिमेण्ट अफ चाइना एड अन आयल एण्ड ग्यास रिसोसेस सर्भे प्रोजेक्ट नेपाल’ सम्झौताको दुई वर्ष समयावधि थप गर्ने र नेपाल–चीन सरकारबीचको ग्रेड आबद्धताको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता स्वीकृत गरेको छ ।