आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालमा २५ प्रतिशत कार्यप्रगती भएको डा. यादवको दावी

जनकपुरधाम, १५ चैत । प्रादेशिक अस्पताल जनकपुरधामबाट पदमुक्त भएका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालको सरसफाइका साथै अस्पतालबाट बिचौलियाको समेत सफाइ गरेको दावी गरेका छन् ।
मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरि डा. यादवले प्रादेशिक अस्पताल जनकपुरधाममा आफ्नो कार्यकालमा २५ प्रतिशत कार्यप्रगती भएको दावीसमेत गरेका हुन् ।
उनले भने,‘म यस अस्पतालको मेसु बनेर आउँदा सरकारी प्रगती स्केल २९ प्रतिशत थियो । तर, बाहिरने बेला त्यो ५४ प्रतिशतमा पुर्याएको छु ।’
डा. यादवले अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट, नयाँ भवन, बेडको बिस्तार र रिनोभेट सहितका कामहरु गरेको भन्दै सञ्चारकर्मीसमक्ष आफ्नो उपलब्धी गनाएका थिए ।
उनले अस्पतालको सुधारका लागि आफूले हरसम्भव प्रयास गरेको दावीसमेत गरेका छन् ।
प्रादेशिक अस्पताल जनकपुरधाम मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा आएपछि अब निर्देशक नियुक्त गर्नुपर्ने प्रावधान अनुसार प्रदेश सरकारले डा. यादवलाई पदमुक्त गरेको छ ।
प्रादेशिक अस्पताल प्रदेश सरकार मातहत सञ्चालन हुँदै आएको छ । अस्पतालमा संघ र प्रदेश दुबैका जनशक्ति कार्यरत छन् भने संघ सरकारले आफूअन्तर्गतका ११० स्थायी र अन्य प्रकृतिका केही कर्मचारीका तलबभत्ता तथा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमका लागि वार्षिक ४३ करोड रुपैयाँ अनुदान दिंदै आएको छ ।
डा.यादव प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत संघ मातहतका कर्मचारी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


