काठमाडौं, १५ चैत । विवेकशील साझा पार्टीको कार्यालयमा तनावको स्थिती सिर्जना भएको छ ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्रसँग असन्तुष्ट रहेका नेता कार्यकर्ताहरुले पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्न खोजेपछि तनावको स्थिति सिर्जना भएको हो ।

असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा मंगलबार बिहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलन रोक्न अध्यक्ष मिश्र पक्षले कर्मचारी बाहेक अन्यका लागि पार्टी कार्यालय बन्द गरेको सूचना जारी गरेका छन् ।

अनाधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको सूचनामा उल्लेख छ ।

कार्यालय बन्द गरेपछि असन्तुष्ट पक्षका नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् । त्यस क्रममा होहल्ला र नाराबाजी भएको थियो ।