उत्पीडित समुदायको एक मात्र हितैसी जसपा : मुख्यमन्त्री राउत

सिरहा, १४ चैत । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी रहेको बताएका छन् ।
सोमबार सिरहाको लहान नगरपालिका–१९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सदियौंदेखि शासक वर्गबाट शोषित हुँदै आएको उत्पीडित समुदायको हकहितका लागी लड्ने एक मात्र पार्टी जसपा रहेको दावी गरे ।
मधेश विद्रोह अघि शोषित रहेको समुदाय तत्कालिन मधेशी जनअधिकार फोरम र हालको जसपा नेतृत्वकै कारण समान सहभागिता पाउन थालेको उनको दाबी थियो ।
पुस्तौंदेखी ठुला पार्टीका नेता कहलाउनेहरु समेत अहिले मधेश विद्रोहको बलमा स्थापित आरक्षण कोटाबाट आफ्नै पार्टीमा स्थान पाईरहेको बताउँदै मुख्यमन्त्री राउतले भने,‘मधेश आन्दोलनको बलमा आरक्षणको व्यवस्था लागु नभएको भए हाल उहाँहरुको अवस्था के हुन्थ्यो भन्ने सोचेर पनि दया लागिरहेको छ ।’
अन्य दलहरु आश्वासन दिने गरेको भए पनि जसपा र जसपा नेतृत्वको मधेश सरकार व्यवहारमा उतारेर देखाएको दावी गर्दै मुख्यमन्त्री राउतले मधेश सरकार जनसंख्याको आधारमा आरक्षणको व्यवस्था, दलित, महिला, मुस्लिम लगायतका समुदायलाई राज्यको मुलधारमा ल्याउन गरेका प्रयासहरु ठोस उदाहरण रहेको उल्लेख गरे ।
वडा कमिटीका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जसपाका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री राजलाल यादव, केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रदेश सदस्य रिता यादव सहितका नेताहरुले सम्बोधन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


