काठमाडौं, १४ चैत । महोत्तरीका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोसपा परित्याग गरी उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

सोमबार बिहान बालकोट पुगेका उनीहरूलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेश गर्नेमा महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेख फारुख समेत छन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् ।

त्यस्तै, जलेश्वर नगरपालिकाकी उपमेयर मनचुनीदेवी पनि लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेकी छन् । सोही कार्यक्रममा रामगोपालपुर नगरपालिकाका कांग्रेसबाट निर्वाचित वडाध्यक्ष उमेश महतो, वडा नम्बर ३ का वडाध्यक्ष जयनारायण मण्डल र वडा नम्बर ८ का वडाध्यक्ष रामविलास मण्डलसमेत कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा लोहारपट्टी नगरपालिका वडा नम्बर ८ का कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामबाबु यादवसमेत छन् । त्यस्तै लोसपाका महोत्तरी जिल्ला सदस्य विश्वेश्वर महतो, नेकपा एकीकृत समाजवादीका बारा जिल्ला अध्यक्ष राम यादव र रौतहट जिल्ला सदस्य रामविनोद साहसमेत एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले नेताहरू प्रभु साह, हिक्मत कार्की, सरोज यादवलगायत सहभागी थिए ।