चितवन, १४ चैत । प्रहरीले चितवन र मकवानपुरबाट ३६५ किलो अवैध लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीले चेपाङको घरमा रहेका १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले फरार चेपाङको खोजी गरिरहेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–६ लोथर खोलाको बगरबाट करिब एक सय किलो गाँजासहित चार जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका सुगौरा बस्ने ५३ वर्षीय बुद्धिबहादुर थिङसहित ४ जना छन् । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोलबाट करिब १ सय ६५ किलो ८ सय ग्राम गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २८ वर्षीय अरविन्द नेपाली छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले अरविन्दलाई पक्राउ गरेको हो ।