महोत्तरी, १३ चैत । महोत्तरी प्रहरीले स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही नगरपालिका वडा नम्बर–२ चेपकट बस्ने २० वर्षीय धिरज कुमार यादव र रमेश कुमार सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले दिएको जानकारी अनुसार औरही नगरपालिका–१ स्थित जलेश्वर–रामगोपालपुर–बर्दिवास सडक खण्डमा ज ९ प ८२४७ नम्बरको मोटरसाईकलमा सवार दुईजनाले बोकेको ५५ लाख नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुबैजनाले पैसा कहाँबाट र कुन प्रयोजनको लागि ल्याइएको भन्ने बारे केही नखुलाएकोले थप अनुसन्धान भईरहेको प्रवक्ता विष्टले बताए ।