नेपालको तीन दिने भ्रमण सकेर विदेशमन्त्री वाङ स्वदेश फर्के

काठमाडौं, १३ चैत । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।
चीनका राज्यपरिषद् सदस्यसमेत रहेका विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गरेका हुन् ।
परराष्ट्रमन्त्री डा.नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार काठमाडौं आएका थिए ।
नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा नेपाल र चीनका परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच शनिबार द्विपक्षीय वार्ता भएको थियो । सो क्रममा दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी ९ बुँदे समझदारीमा हस्ताक्षर गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


