काठमाडौं, १३ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रावणसँग तुलना गरेका छन् ।

आइतबार काठमाडौंमा भएको समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले अध्यक्ष ओलीलाई रावणसँग तुलना गरेका हुन् ।

उनले रावण, कंश र शिशुपालले गरेका गल्तीहरू ओलीले गरिरहेको भन्दै उनीहरूसँग तुलनात्मक रुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताए ।

अध्यक्ष नेपालले अध्यक्ष ओली कम्युनिस्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गरे । उनले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृति गरिरहेको आरोपसमेत लगाए ।

‘केपीका बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा के–के प्रवृतिहरू देखिए, कंशमा के–के प्रवृतिहरू देखिए, शिशुपालले सय वटा के–के अपराध ग¥यो ? र हिटलरले के–के कुकृत्य गरेको थियो ? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस्,’ उनले भने ।

अध्यक्ष नेपालले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरूको आकर्षण बढिरहेको दाबीसमेत गरे ।