ज्ञान, सिप र धन नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं, १२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीलाई आफ्नो ज्ञान, सिप र धन नेपालमा लगानी गर्न आग्रह गरेकी छन् ।
शनिबार १० औँ गैरआवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीलाई आफ्नो ज्ञान, सीप र धनलाई रोजगारी, पुँजी र उत्पादकत्व वृद्धि हुने क्षेत्रमा लगानी गर्न आग्रह गरेकी हुन् ।
उनले नवीकरणीय ऊर्जा र हरित विकासलाई प्रवर्द्धन गर्नेगरी लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले गैर आवासीय नेपालीको ज्ञान, सीप, पुँजी र सञ्जाललाई देशको आर्थिक, सामाजिक विकासमा उपयोग गर्ने सरकारको नीति रहेको पनि उल्लेख गरिन् ।
राष्ट्रपति भण्डारीले संविधानले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने परिकल्पना गरेको उल्लेख गर्दै आवश्यक कानूनको निर्माणपश्चात् सो व्यवस्था लागू हुनेमा विश्वास व्यक्त गरिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


