पर्सा, १२ चैत । नेपालबाट भारतर्फ बिक्री गर्नका लागि लग्दै गरेको हात्तीसहित पर्साबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१८ जितपुरका ६० वर्षीय बुदिराम महतो (माउते), ४० वर्षीय राजु कुमाल (माउते) र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवाका ३५ वर्षीय सफरोज आलम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिक्री वितरणका लागि नेपालबाट भारततर्फ हात्ती लैजाँदै गरेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको प्रहरी टोलीले शनिवार दिउँसो १२ बजे पर्साको पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलमा दुईटा हात्ती लैजाँदै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनैजना र हात्तीलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।