बारामा एक महिलालाई एसिड प्रहार गरेको आरोपमा जेठाजु र ससुरा पक्राउ

बारा, १२ चैत । बारामा एक महिलालाई एसिड प्रहार गरेको आरोपमा महिलाकी जेठाजु र ससुरा पक्राउ परेका छन् ।
पर्साको वीरगञ्ज महानगरापालिका–१३ बस्ने उमेश साहकी २८ वर्षीया पत्नी सीता पटेलमाथि शुक्रबार राति एसिड प्रहार भएको हो ।
पटेलमाथि बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका दुई जनाले एसिड प्रहार गरेका हुन् ।
एसिड प्रहार भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी गई घाइते पटेललाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाइएकोमा थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा लगेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पटेलले उक्त घटनामा जेठाजु वीरगञ्जको श्रीपुरका ३२ वर्षीय रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह संलग्न रहेको बयान दिएकी छन् ।
दुवैलाई वीरगञ्जबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


