तमलोपाको १५ बुँदे घोषणापत्र सार्वजनिक

जनकपुरधाम, १२ चैत । तराई मधेस लोकतान्त्रिक पार्टीले स्थानीय निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्पसहित घोषणापत्र सार्वजनिक गरेको छ ।
शनिबार जनकपुरधाममा पार्टी अध्यक्ष तथा वरिष्ठ नेता र जिल्ला अध्यक्षहरुको उपस्थितिमा १५ बुँदे घोषणापत्र सार्वजनिक गरिएको हो ।
संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई लिँदै यसले जनता स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र संघीय स्वशासनका निम्ति निरन्तर संघर्षरत रहने उल्लेख छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो संघर्षको पथ ‘संघर्ष समानता र सम्मानको मधेसीको पहिचानको’ निर्धारित गरेको छ । त्यस्तै, दश प्रदेशीय राज्य पुनःसंरचना, संविधानको संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै भूमिहीन, दलित र सुकुम्वासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच, कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागीदारी, मधेस विकासको निमित्त दिर्घकालिन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसंख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यवहारिक विदेश नीतिलगायतका पार्टीको महत्वपूर्ण बुँदाहरु घोषणापत्रमा समावेश गरिएको पार्टी अध्यक्ष वृषेश चन्द्र लालले बताए ।

तमलोपाले स्थानीय निर्वाचन र पार्टीबारे छलफल गर्न आज जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावको निमित्त तयार रहनु परेको बताए । उनले अहिले तमलोपालाई चुनावमा भाग लिनसक्ने बाटो मात्र खोलिएको बताउँदै स्थानीय तह जनताको घरदैलोको तह रहेकोले दलीय आधारमा यसको चुनाव हुनु नपर्ने कुरामाथि जोड दिएका छन् ।
उनले भने,‘दलीय भागवण्डा, भ्रष्टाचार, जातीवाद, उम्मेदवार खरिद बिक्री आदिका कारणले दृष्टि, सीप, अभिव्यक्ति, सोंच, प्रतिवद्धता भएकाहरु अगाडि आउन र सहर तथा गाउँको विकासमा योगदान दिन आह्वान गर्दछु । हामी उनको सम्मान गर्नेछौं ।’
अध्यक्ष लालले आफ्नो पार्टी खिचडी गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारे । लोकतन्त्रको निमित्त लोकतान्त्रिक शक्तिहरुबिच गठबन्धन जरुरी रहेको उनले बताए । नेपाली कांग्रेस वामपन्थीहरुको ‘हात बढाएर घाँटी समात्ने’ षडयन्त्रको जालमा फँसेको अध्यक्ष लालको जिकिर छ ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा.विजय कुमार सिंहले तराई मधेस लोकतान्त्रिक पार्टी निकट भविष्यमै देशलाई राजनीतिक विकल्प दिने दावी गरेका छन् । लोसपा, जसपा लगायतका पार्टीहरु चुनावका लागि मात्र संविधान संशोधनको कुराहरु गरेको जिकिर गरेका छन् । मधेस मुद्दाको सवालमा तमलोपा निरन्तर संघर्षरत रहने वरिष्ठ नेता सिंहको भनाई छ ।
कार्यक्रममा पर्सादेखि सप्तरीसम्मका पार्टीका जिल्ला अध्यक्षहरु तथा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


