जनकपुरधाम, ११ चैत । जनकपुरधामको पुलचोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले अपहरणमुक्त गराएको छ ।

अपहरणमा परेकी बालिकालाई प्रहरीले २४ घण्टा नबित्दै प्रहरीले अपहरणमुक्त गराउन सफल भएको हो । प्रहरीले अपहरणमा संलग्न ४ जनालाई पक्राउ समेत गरेको छ ।

बिहीबार साँझ अपहरणमा परेकी बालिकालाई धनुषाको बिदेह नगरपालिका वडा नम्बर–८ बफैबाट शुक्रबार साँझ अपहरणमुक्त गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनले अपहरणमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरिएकोसमेत जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ पुलचोकका ध्रुव मण्डलको ४ वर्षीया छोरी सृष्टि मण्डललाई बिहीबार साँझ जनकपुरधामस्थित घर अगाडि खेल्दै गर्दा अपहरण गरिएको थियो ।

अपहरणकारीले शुक्रबार बिहान फरक–फरक नम्बरबाट फोन गरी १५ लाख रुपैयाँ फिरौती मागेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपक राय नेतृत्वको टोलीले बालिकालाई अपहरणमुक्त गराएको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

अपहरणकारीलाई पक्राउ गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक रजौरेले बताए । यद्यपि कोही पनि घाइते नभएको उनको भनाई छ ।