जनकपुरधाम, ११ चैत । जिल्ला प्रशासन कार्यालय धनुषाले इजाजत प्राप्त हतियारहरु प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन जिल्ला भित्र रहेका इजाजत प्राप्त हतियारहरु बुझाउन प्रशासनले आग्रह गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शुक्रबार एक सूचना प्रकाशित गर्दै चैत मसान्तसम्म नजिकको प्रहरी इकाईमा इजाजत प्राप्त हतियारहरु बुझाउन सम्बन्धित सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरेका छन् ।

प्रहरी इकाइमा बुझाइएका उक्त हतियारहरु निर्वाचन सम्पन्न भए पश्चात सम्बन्धित धनीले फिर्ता प्राप्त गर्न सक्ने प्रजिअ पौडेलले बताए ।

सूचनाको वर्खिलाप भएको पाइएमा कानुन बमोजिम कारवाही हुने चेतावनीसमेत दिइएको छ ।