काठमाडौं, ११ चैत । यातायात व्यवस्था विभागले आगामी जेठ महिनाबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने जनाएको छ ।

एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१ को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए ।

‘स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टको जसैगरी निजी क्षेत्रलाई दिन सकिन्छ भनेर विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ घिमिरले भने, ‘नभएर विभागमा प्रिन्टिङ मेसिन, पूर्वाधार र जनशक्ति थप गरेर व्यवस्थापन गर्नुपर्छ ।’

ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले जेठपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेको छ ।

उनका अनुसार जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन पनि खुल्नेछ । जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने बताउँदै घिमिरेले त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए ।

जेठपछि अनलाइनबाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिइने भन्दै उनले अहिलेको भन्दा प्रभावकारी ढंगबाट सेवा प्रवाह दावी गरे ।