गठबन्धनको विषयमा प्रधानमन्त्री देउवाप्रति विश्वस्त छु : माधव नेपाल

काठमाडौं, ११ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्यधिक विश्वास रहेको जनाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका बारेमा राखेको शर्त नमानेको उदाहरण दिँदै अध्यक्ष नेपालले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको जनाएका हुन ।
‘केपी ओलीले एमसीसी पारित गराउन प्रचण्डजी र मलाई गठबन्धनबाट हटाउने शर्त राख्दा शेरबहादुरजीले मान्नु भएन, भन्नुभएछ– म धोका दिने मान्छे होइन,’ नेपालले भने, ‘अहिले पनि कांग्रेसका कतिपयले भनेका छन्, गठबन्धन हुँदैन तर शेरबहादुरजीले निर्वाचनसम्म सँगसँगै जानेछौँ भनिरहनु भएको छ, अब उहाँको पार्टीले के निर्णय गर्छ, पर्खेर बसेका छौं ।’
शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पत्नी आरजु राणाको पनि प्रशंसा गरे ।
‘आरजु देउवाले कैलालीमा पुगेर भन्नुभएछ– ‘म अब कैलालीबाट नै उठछु, चुनावमा गठबन्धन चाहिन्छ, गठबन्धनको महत्व बुझिदिनु भएकोमा आरजुजीलाई पनि धन्यवाद ।’
देउवाप्रति पुरै विश्वस्त देखिएका अध्यक्ष नेपालले एमसीसी अनुमोदन निःशर्त गराउन खोजेको तर त्यसका लागि चारवटा शर्त राखेको पनि बताए ।
नेपालका अनुसार एकीकृत समाजवादीका १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले तुरुन्त कारबाही गर्नुपर्ने, यदी सभामुखले कारबाही नगरेमा राजीनामा दिनुपर्ने पहिलो शर्त राखेका थिए ।
दोस्रो शर्त एकीकृत समाजवादीको वैधानिकतालाई रद्द गरिदिने, तेस्रो पाँच दलको गठबन्धनलाई भंग गरिदिने र चौथो तीनवटा प्रदेशका मुख्यमन्त्री एमालेको भागमा दिनुपर्ने शर्त राखेको, तर प्रधानमन्त्री देउवाले अस्वीकार गरेको नेपालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


