महोत्तरी, ११ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनलाई पार्टीबाट निष्काशन गरिएको छ ।

लोसपा नेपाल एकडारा गाउँपालिका समिति तथा जिल्ला अनुशासन समितिको सिफारिशमा उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

पार्टीको नीति, निर्देशन नमानी पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने, पदीय आचरण एवम् अनुशासनविपरीतका कार्यहरु गरेकोले खातुनलाई कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले बताए ।

जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्काशन गरिएको अध्यक्ष साहले जानकारी दिए । जनता समाजवादी पार्टी नेपालबाट फुटेर लोसपा बनेपछि उपाध्यक्ष खातुनले लोसपा रोजेकी थिइन् ।

उनी पुनः जसपामै फर्किन लाग्दा उनलाई कारवाही गरिएको स्रोतले जनाएको छ ।