जनकपुरधाम, ११ चैत । जनकपुरधामबाट एक चार वर्षीया बालिका घर अगाडिबाटै बेपत्ता भएकी छिन् ।

जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौक निवासी ध्रुव मण्डलकी चार वर्षीया छोरी सृष्टि मण्डल घरबाटै बेपत्ता भएकी हुन् ।

सृष्टि आफ्नै घर अगाडी खेलिरहेको अवस्थामा बिहीबार साँझ ७ बजेदेखि बेपत्ता भएकी हुन् ।

ध्रुवले भने,‘बिहीबार साँझ करिव ७ बजेको समयमा छोरी घर अगाडी खेलिरहेकी थिइन् । मैले बाटोमा गाडी कुदिरहेका छन् । घर भित्र जाउ छोरी भनेर बोलाएँ । छोरीले म एकछिनपछि आउँछु बुबा भनिन् । म घरभित्र गएर केहिबेरमै फेरि उसलाई बाहिर बोलाउन आउँदा उनी बेपत्ता थिइन् । छरछिमेकमा खोजतलास गर्दा कतै नभेटिएपछि अन्त्यमा प्रहरीलाई खबर गरें ।’

ध्रुवले आफ्नो छोरीलाई कसैले अपहरण गरेर लगेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

बालिका हराएपछि अहिले उनको घरमा रुवाबासी चलेको छ । उनलाई कसैले चोरेर लगेको हुन सक्ने स्थानीयकोसमेत आशंका छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बालिकाको खोजी तीव्र रुपमा भइरहेको बताएका छन् ।

हाराएकी बालिका सृष्टि स्थानीय आर्दश बोर्डिङ स्कूलमा नर्सरी कक्षमा अध्ययनरत छिन् ।