काठमाडौं, १० चैत । निर्वाचन आयोगले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाको अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।

बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो । यो कार्यक्रम देशका विभिन्न १५ स्थानमा केन्द्रमा एक र १४ वटा जिल्लाहरूमा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्यालले अहिले आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरूमध्ये राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ राजनीतिक दलहरूले आयोगमा पठाएका विवरणहरूको रुजु गर्ने काम गरिरहेको बताए ।

उनले मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिकालगायतका सामग्री छपाइका लागि विभिन्न ६ वटा प्याकेजको बेलपत्र स्वीकृत गरी आपूर्तिकर्तासँग सम्झौता गर्न पत्राचार गरिएको पनि बताए ।

सहप्रवक्ता अर्यालले निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत आवश्यक हुने मतदाता शिक्षा सामग्री तयारीका लागि विभिन्न ४ वटा समूहमा संघसंस्था सूचीकृतका लागि सूचना गरिएकोमा अडियो तथा भिडियो सामग्री उत्पादनमा ६१ वटा, भिडियो तथा टेलिभिजन प्रशारणमा १५ वटा, सूचना एवं सन्देश प्रकाशनमा १९ वटा, सामाजिक सञ्जाल प्रवद्र्धनमा ४५ वटा संघसंस्थाहरुको आवेदन दर्ता भएको पनि जानकारी दिए ।