हेटौंडा, १० चैत । बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले कोरोना र क्षयरोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागे परीक्षण गर्न आग्रह गरेका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य सन्देश दिँदै उनले पछिल्लो समय विश्वभर फैलिएको कोरोना र क्षयरोग दुबैले फोक्सोमा असर गर्ने र दुबै रोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागेमा कोरोनासँगै क्षयरोगको परीक्षणका लागि आग्रह गरेका हुन् ।

बागमती प्रदेश सरकारले रोगको पहिचानका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ । जसबाट बेलैमा पहिचान हुन सहयोग पुग्ने मन्त्री लामाले जनाए ।

उनले क्षयरोगको उपचार सेवा तथा औषधी निःशुल्क रहेकाले बेलैमा यसको पहिचान गरी उपचारमा लाग्न हुन प्रदेशवासीमा अनुरोध पनि गरे ।

धुम्रपान–मध्यपान नगर्ने, पोषणयुक्त खानेकुरा खाने, बालबालिकालाई तोकिएको समयमा बिसिजीको खोप लगाउने र रोगको संक्रमण अरूमा फैलिन नदिन प्रदेशका सबै नागरिक सचेत रहन जरुरी रहेको उनको भनाइ छ ।

नेपालमा सन् २०१८/१९ मा सम्पन्न क्षयरोग प्रिवालेन्स सर्वेक्षण अनुसार अनुमानित ६८,००० जना नयाँ क्षयरोगका बिरामी रहेको तथ्य सार्वजनिक भएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रतिवेदन अनुसार नेपालमा वार्षिक करिब २७,२३२ जना बिरामी रोग पत्ता लागेर उपचारमा आएका छन् ।

क्षयरोग सक्रिय नरहे तापनि निष्क्रिय रहेको हुन सक्ने भएकोले नेपालमा निष्क्रिय क्षयरोग भएका १०० मध्ये १५ जना व्यक्तिलाई भविष्यमा क्षयरोग सक्रिय हुन सक्ने देखिएको चिकित्सकहरू बताउँछन् ।