काठमाडौं, १० चैत । नेकपा एमालेले चैत मसान्तभित्र स्थानीय तह निर्वाचनको उम्मेदवारहरूको सिफारिस गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।

बुधबार र बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यस्तोे निर्देशन दिएका हुन् ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ढिलोमा चैत मसान्तभित्र उम्मेदवारहरुको नाम सिफारिस गरिसक्न निर्देशन दिएको जानकारी दिए ।

त्यस्तै, चैत मसान्तसम्ममा नै घोषणापत्र मस्यौदा कार्यदलले घोषणापत्रको मस्यौदा तयार गर्नका लागि निर्देशन गरिएको जानकारी दिए ।

रिजालका अनुसार घोषणापत्रको मस्यौदा तयार गर्नका लागि ईश्वर पोखरेलको संयोजकत्वमा, युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु साह, मरुजंग थापा, डा. युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशिल ज्ञवालीलाई जिम्मा दिइएको छ ।