काठमाडौं, १० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार, संगठन र दृष्टिकोणका हिसाबमा आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्ने कुनै राजनीतिक दल नभएको बताएका छन् ।

बुधबार र बिहीबार राजधानीमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनलाई केन्द्रमा राखेर अघि बढ्न निर्देशन दिएका हुन् ।

बैठकपछि निर्णय सुनाउँदै एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘नेकपा एमालेसँग विचार, संगठन र दृष्टिकोणका हिसाबमा प्रतिस्पर्धा गर्ने राजनीतिक दल छैनन् । तथापि गठबन्धनका नाममा पार्टीको मनोबल कमजोर बनाउने काम हुन सक्छन, त्यसका विरुद्धमा सम्पूर्ण पार्टीपंक्ति एकताका साथ अघि बढ्नुपर्छ ।’

अध्यक्ष ओलीले दिएको निर्देशनबारे बताउँदै रिजालले भने, ‘यस्तो बेलामा निर्वाचनलाई केन्द्रमा राखेर परिचालन हुनुपर्छ भन्ने निर्देशन अध्यक्ष कमरेडले दिनुभएको छ ।’