मिथिला बिहारी नगरपालिका : कम्बल खरिदमा व्यापक अनियमितता

जनकपुरधाम, १० चैत । धनुषाको मिथिला बिहारी नगरपालिकाले गरिब परिवारका लागि वितरण गर्नका लागि खरिद गरेको कम्बलमा व्यापक अनियमितता गरेको पाइएको छ ।
सो नगरपालिकाले ५० लाख रुपैयाँको कम्बल खरिद प्रक्रियामा अनियमितता गरेको पाइएको हो ।
नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीको मिलोमतोमा आफू निकटका आपूर्तिकर्ताबाट कम्बल खरिद गर्नका लागि आन्तरिक मिलोमतोमै प्रतिस्पर्धालाई सीमित गरिएको खुलेको छ ।
मिथिला बिहारी नगरपालिकाले सम्झौता गरेर कार्यादेश दिएको मितिभन्दा पहिले नै सामान खरिद गरी दाखिला गर्दै आपूर्तिकर्ता फर्मलाई भुक्तानी समेत दिएको पाइएको हो ।
नगर प्रमुख अनिलकुमार यादव, तत्कालीन निमित्त प्रशासकीय अधिकृत रामदरश यादव, इन्जिनीयर नन्दकुमार झा र लेखापाल सुभास झा सहितका कर्मचारीहरूको मिलेमतोमा अनियमितता भएको छ ।

सार्वजनिक खरिद नियमावलीको दफा ३१ मा २० लाख रुपैयाँभन्दा माथिको सामान खरिद गर्नुपर्ने भएमा १ महिनाको सूचना दिई बोलपत्र प्रकाशित गर्नुपर्ने प्रावधान छ । तर मिथिला बिहारी नगरपालिकाले ५० लाख रुपैयाँको सामग्री खरिदका लागि २०७८ पुस २८ मा हिमालय टाईम्स दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दा ७ दिनको लागि मात्र सूचना प्रकाशित गरेको देखिएको छ ।
नगरपालिकामा काम गर्ने एक कर्मचारीका अनुसार प्रतिस्पर्धालाई सीमित पार्न तथा मिलोमतो गरेको फर्मलाई मात्र टेन्डर पार्ने उद्देश्यले बदनियत राखेर ७ दिनको म्याद दिएर सूचना प्रकाशित गरेको थियो ।
‘निमित्त प्रशासकीय अधिकृत, इन्जिनीयर सहितकाले सर्लाहीको मलंगवाका ओम जेनेरल अर्डर सप्लायर्ससँथ मोटो कमिसन खाने सेटिङ्ग गरिसकेको थियो,’ ती कर्मचारीले भने, ‘बोलपत्रमा प्रतिस्पर्धालाई सीमित गर्न सकियोस् र त्यसैले मात्र टेन्डर पाउन सकोस् भन्ने बदनियतपूर्वक एउटै फर्मबाट एकै पटकमा २५ लाख रुपैयाँसम्मको कारोबार गरेको हुनुपर्ने शर्त राखिएको थियो ।’
निर्माण सम्बन्धी काममा त्यस्तो शर्त कुनै–कुनै मुद्दामा राख्ने गरिन्छ । तर सामान खरिद गर्नका लागि यति रकमको कारोबार गरेकै हुनुपर्ने शर्त प्रायः जसो राख्ने गरिँदैन, तर अमुक फर्मले मात्र टेन्डर पाउन सकोस् भन्ने बदनियत राखेर टेन्डर आह्वान गर्दा शर्त राखिएको थियो भन्दै ती कर्मचारीले भने ।
५० लाख रुपैयाँको कम्बल खरिदका लागि मिथिला बिहारी नगरपालिकाले आह्वान गरेको टेन्डरमा ३ वटा आपूर्तिकर्ताले प्रतिस्पर्धा गरेका थिए । दूर्गा ट्रेड लिंकले ४८ लाख ८६ हजार १२० रुपैयाँ, ओम जनरल अर्डर सप्लायर्सले ४४ लाख ५ हजार ३०५ रुपैयाँ र लुसिड ट्रेड लिंकले ४१ लाख ३२ हजार ४१० रुपैयाँ प्रस्ताव गरेको थियो ।
सबैभन्दा कम रकम प्रस्ताव गरेको लुसिड ट्रेड लिंकको प्रस्तावलाई अस्वीकार गरेको थियो । बोलपत्र मूल्यांकन समितिले दोस्रो बढी रकम प्रस्ताव गर्ने ओम जनरल अर्डर सप्लायर्सको प्रस्तावलाई छनोट गरेको थियो ।
सबै प्रतिनिधिलाई जानकारी नै नदिई खरिद समितिका संयोजक इन्जिनियर नन्दकुमार झा र लेखापाल सुभास झाले बोलपत्र खोलेर गलत मनसायले मिलोमतो गरी सेटिङ गरेका फर्मलाई टेन्डर पारेको देखिएको एक कर्मचारीले बताए ।
२०७८ फागुन ३ गते नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले सम्झौताका लागि ओम जनरल अर्डर सप्लायर्सलाई पत्राचार गरेको थियो ।

‘२०७८ पुस २८ गते प्रकाशित बोलपत्रबाट कम्बल खरिद सम्बन्धी कार्यका लागि ओम जनरल अर्डर सप्लायर्सले पेश गरेको कबोल रकम ४४ लाख ५ हजार ३०५ रुपैयाँ मूल्य अभिवृद्धि करसहित बोलपत्र स्वीकृत अनुसार २०७८ फागुन ३ मा सम्झौता भएको थियो । सो अनुसार सम्झौता पत्रमा तोकिएको शर्तहरूको पालना गरी तोकिएको कार्य २०७८ फागुन ९ गतेसम्ममा सम्पन्न गर्ने गराउने गरी तपाईंलाई कार्यादेश दिइएको छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले ओम जनरल अर्डर सप्लायर्सलाई दिएको कार्यादेश पत्रमा उल्लेख छ ।
कार्यादेश दिएको मिति फागुन ३ गतेदेखि ९ गतेसम्म आपूर्तिकर्ताले सम्झौता बमोजिमको शर्त पालना गर्दै कम्बल नगरपालिकामा दाखिला गराउनु पर्ने थियो । तर कार्यादेश पाएको मितिभन्दा १ दिन अघि नै सप्लायर्सले कम्बल नगरपालिकाको स्टोरमा दाखिला गराइसकेको कागजातबाट देखिन्छ ।
फागुन ३ मा कार्यादेश पाए पनि ओम जनरल अर्डर सप्लायर्सले फागुन २ गते नै कम्बल नगरपालिकाको स्टोरमा दाखिला गराएको देखिन्छ । नगरपालिकाको स्टोरमा २०७८ फागुन २ गते नै दाखिला नम्बर ३५ सहित २ हजार ३०० थान कम्बल दाखिला गरिएको प्रतिवेदनमा उल्लेख छ ।
१ हजार ६९५ रुपैयाँ प्रतिथान कम्बलका दरले २ हजार ३०० थान कम्बलको मूल्य ३८ लाख ९८ हजार ५०० रुपैयाँ र १३ प्रतिशत भ्याट ५ लाख ६ हजार ८०५ रुपैयाँ गरी कूल ४४ लाख ५ हजार ३०५ रुपैयाँ सहितको बिल ओम जेनरल अर्डर सप्लायर्सले नगरपालिकामा पेस गरेपछि नगरपालिकाले सोही दिन भुक्तानी समेत गरेको देखिन्छ ।
बोलपत्र फारम भर्दा स्पेसिफिकेसन बमोजिमको नमूना पठाइए पनि स्पेसिफिकेसन अनुसारको सामग्री दाखिला गराएको पाइँदैन । स्पेसिफिकेसनमा ‘मिंक कटन उलन ब्ल्यांकेट’को माग गरिएको थियो । न्यूनतम २.४ किलोग्राम तौल भएको, २४० सेन्टिमिटर लम्बाई, २३० सेन्टिमिटर चौडाइसहित नरम तथा न्यानो मिंक ब्ल्यांकेट हुनुपर्ने स्पेसिफिकेसनमा उल्लेख गरिएको छ ।
खरिद प्रक्रियामा मेरो कुनै संलग्नता छैन : मेयर यादव
यस सम्बन्धमा नगर प्रमुख अनिलकुमार यादवले कम्बल खरिद प्रक्रियामा आफ्नो कुनै पनि संलग्नता नरहेको जिकिर गरे । उनले भने, ‘ज्येष्ठ नागरिक मिलन केन्द्रका ज्येष्ठ नागरिक र एकल महिलाहरूका लागि २ हजार ३०० थान कम्बल वितरण गर्ने भनेर मेरो अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकबाट निर्णय गरिएको थियो ।’
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले खरिद प्रक्रिया अगाडि बढाएर नै खरिद गरेको उनले दावी गरे । स्पेसिफिकेसन अनुसारको कम्बल आपूर्ति भएको हुनुपर्ने उनको जिकिर छ ।

बोलपत्र प्रक्रियामा सहभागी भएका लुसिड ट्रेड लिंक प्रालिले खरिद प्रक्रियामा अनियमितता भएको भन्दै २०७८ माघ २४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
पटक–पटक टेन्डर खोल्नुभन्दा १ दिन पहिले हामीलाई जानकारी गराउन भनेपनि १२/१३ दिनसम्म टेन्डर खोल्ने समयलाई लम्ब्याइएको उजुरीमा उल्लेख छ ।
उजुरी परेपछि अख्तियार आयोगले २०७८ फागुन ४ मा मिथिला बिहारी नगरपालिकाको कार्यालयलाई पत्र पठाएर त्यहाँका प्रमुख प्रशासकीय अधिकृतलाई छानबिन गरी आवश्यक कारबाहीका लागि पत्राचार गरेको समेत छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


