काठमाडौं, ९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानसँग बुधबार भर्चुअल संवाद गरेका छन् ।

संवादका क्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनको भनाइ थियो ।

हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ । हम आपको स्वागत करनेके लिए आतुर हैं ।’

सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए । आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए ।

मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन् । जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए ।

‘तपाईलाई म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउनु आग्रह गर्दछु । यदि तपाईको समय मिल्यो भने म तपाईलाई हेलिकप्टरमार्फत सगरमाथाको आरोहण गराउन चाहन्छु । त्यसमा तपाईले सहयोग गर्नुप¥यो,’ मन्त्री आलेले भने ।

यसक्रममा मन्त्री आलेले आफ्ना पुराना दिन सम्झिए । उनले सलमान खान अभिनित ‘मैने प्यार किया’ फिल्म हेरेको स्मरण गरे । ‘म त्यतिबेला मुम्बईमै थिएँ, जतिबेला तपाइँ अभिनित मैने प्यार किया हेरेको थिएँ ।’ सलमान अभिनित उक्त फिल्म सन् १९८९ मा सार्वजनिक भएको थियो ।

मन्त्री आले त्यतिमै रोकिएनन्। सन् २००३ मा सार्वजनिक भएको ‘तेरे नाम’ पनि हेरेको र धेरै राम्रो फिल्म बनेको सलमानलाई फुर्काए । मन्त्री आलेले फुर्काउँदै गर्दा सलमान खानले ‘धन्यवाद’ दिइरहेका थिए ।

आलेले आफूले थुप्रै फिल्म हेरेको स्मरण गराए । नेपालमा स्वागत गर्न नेपाली जनता र सरकार तयार रहेको उनको भनाइ थियो । ‘दबंग टूर’का लागि सलमान खान आगामी १४ जेठमा नेपाल भ्रमणमा आउँदैछन् । त्यसअघि नै मन्त्री आलेले सलमानसँग भर्चुअल कुराकानी गरेका हुन् ।