बिहीबारदेखि जनकपुरधामबाट पोखरासम्मको हवाइ उडान दैनिक हुने

जनकपुरधाम, ९ चैत । बुद्ध एअरले भोलीदेखि धार्मिक नगरी जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाइ उडान दैनिक गर्ने भएको छ ।
बुद्ध एअर जनकपुरधामका स्टेशन प्रबन्धक विजय प्रसाद सिंहले यात्रुहरुको माग अनुसार जनकपुरधाम–पोखरा–जनकपुरधाम उडान भोलीदेखि हप्ताको सातै दिन हुने जानकारी दिएका हुन् ।
अहिले हप्ताको सोमबार, बिहीबार र शनिबार जनकपुरधामबाट पोखराका लागि उडान हुँदै आएकोमा अब सातै दिन हुने उनले जानकारी दिए ।
नागरिक उड्डयन कार्यालय जनकपुरधामले फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा उडान सुरु गरेको थियो ।
जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाइ यात्रा तय गरेर आउने जाने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
केही महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सिधा हवाइ उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


