काठमाडौं, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफ्नो पार्टीको सदस्यता ८ लाख ५५ हजार भएपनि अहिले त्यो संख्या बढेर ११ लाख पुगेको दाबी गरेका छन् ।

पार्टीको आजबाट सुरु भएको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले पार्टी प्रवेशको लहर बढेसँगै उक्त संख्या ११ लाख लगभग पुगेको बताए ।

उनले भने,‘अहिले पार्टी प्रवेशको जुन लहर छ, त्यस हिसाबले हाम्रो सदस्यता संख्या महाधिवेशनमा ८ लाख ५५ हजार थियो । अहिले ११ लाख पुगेको छ ।’

एमालेले स्थानीय तह निर्वाचन केन्द्रित गर्दै मोबाइल एप पनि सार्वजनिक गर्ने बताए । उक्त एपमार्फत झनै सहज हुने बताउँदै उनले भने, ‘हामीले हाम्रो एपलाई ठिक ढंगले प्रयोग गर्न सक्यौं भने धेरै दुर्गममा जहाँ स्मार्ट फोन पुगेको छैन त्यहाँ बेग्लै कुरा होला । तर, आम रुपमा यसले हाम्रो प्रचार प्रसार लगायतका सबै कुरामा जानकारी हुन्छ ।’