काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उच्च शिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रूपमा प्रस्ताव गरेका छन् ।

कीर्तिपुरमा बुधबार त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्नेमा जोड दिए ।

शिक्षालाई संविधानमा मौलिक हकसहितका व्यवस्था गरिए पनि विश्वविद्यालयमा सुधारको आवश्यक रहेको उनको भनाइ छ ।

त्रिवि विश्वविद्यालयमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने भन्दै महामन्त्री थापाले यसमा आफ्नो पनि सहयोग रहने बताए ।

आफू पनि त्रिविको पूर्वकर्मचारी भएकाले अहिले यस विद्यालयको रङ उडेको देख्दा मन दुखेको बताउँदै उनले सबैजना मिलेर विश्वविद्यालयको समस्या समाधान गर्नुपर्ने बताए ।