काठमाडौं, ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दलहरुका लागि तराई मधेस ठगी खाने भाँडो भएको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने काम मात्र गरेको जिधिर गरेका हुन् ।

उनले हामीले हाम्रो देशको उन्नति गर्न पाउनुपर्छ भन्ने एमालेको मान्यता रहेको बताए ।

अध्यक्ष ओलीले देशमा काम गर्ने मान्छे नपाएको अवस्थामा युवाहरु विदेशिएको भन्दै युवालाई स्वदेशमै बस्न आग्रह गरे ।

‘विदेश जान नभई देशकै विकासको काम गर्न युवालाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भने, ‘स्वदेशमै बसौं, स्वदेशकै विकास गरौं । स्वदेशलाई नै समृद्ध बनाऔं । अब विदेश नजाऔं ।’

तराईको विकासमा आफूले सरकारमा रहँदा विशेष ध्यान दिएको उनले बताए । शिक्षा, स्वास्थ्य, बाटो लगायतका विषयमा आफूले प्रशस्त काम गरेको उनको भनाइ छ ।